काठमाडौं : केहि समय यता बैदेशिक रोजगारका लागि आउने नयॉ माग घट्दो अवस्थामा देखिएको छ । यसरी नयॉ मागहरु किन घट्यो भन्ने प्रश्न संवन्धित क्षेत्रहरुमासमेत उठ्न थालेको छ । वैदेशिक रोजगारीमा फागुन महिनामा जाने नेपालीको संख्या र चैत महिनामा जानेको संख्या हाराहारीमा देखिएको छ । फागुन महिनामा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुनः श्रम स्वीकृतिबाट ६१ हजार ४ सय ४५ जना वैदेशिक रोजगारीमा गएकोमा चैत महिनामा उक्त संख्या ३३ जनाले बढी ६१ हजार ४ सय ७८ रहेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत चैत महिनामा ५६ हजार ३ सय ४३ जना पुरुष र ५ हजार १ सय ३५ महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार चैत महिनामा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत सबैभन्दा बढी मलेसियामा १२ हजार १ सय १३, साउदी अरेबियामा ६ हजार ९०, यूएईमा ३ हजार ९ सय ८३ जना गएका छन् ।
तर कतारको रोजगारीमा भने अस्वभाविकरूपमा कमी आएको छ । विश्वकप फुटबल अघि मासिक १२ देखि १५ हजारको हाराहारीमा नेपाली कामदार जाने गरेको कतारमा चैत महिनामा जम्मा १ हजार ९ सय ५७ जना गएका छन् । कतारमा विश्वकप फुटबलपछि अर्थतन्त्र सुस्ताएको कारणले विदेशी कामदारको माग अनपेक्षितरूपमा घटेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
पुनः श्रम स्वीकृतिका माध्यमबाट कतार जानेको संख्या भने ८ हजार ७ सय ५२ जना रहेको छ । यसले पुरानो काम यथावत भएपनि कतारमा नयाँ रोजगारीको विस्तार हुन नसकेको देखाउँछ ।
मलेसिया जाने कामदारको संख्यामा पनि फागुनको तुलनामा चैतमा करिब ४ हजारले कमी आएको देखिएको छ । फागुनमा १६ हजार ७ जना मलेसिया गएकोमा चैतमा १२ हजार १ सय १३ जना मात्रै गएका छन् । मलेसिया सरकारले यसअघि जारी भएका एप्रुभलअनुसार कामदार नआएको भन्दै नयाँ एप्रुभल जारी गरेको छैन ।
चैत महिनामा कुवेतमा १ हजार ६ सय ६९, रोमानियामा ८ सय ७१, ओमानमा १ सय ५२, उजवेकिस्तानमा १ सय, जोर्डनमा १४, जापानमा ६६, इजरायलमा १६, साइप्रसमा ३ सय ६१, क्रोएसियामा १ सय २२, बहराइनमा २ सय ९९, ब्रुनाईमा २१, अल्बानियामा ११, हङकङमा एक जना, माल्दिभ्समा ३, मरिससमा २ र बेलायतमा ४ जना गरी संस्थागतरूपमा २७ हजार ८ सय ५५ जना वैदेशिक रोजगारमा गएका छन् ।
व्यक्तिगत पहलमा वैदेशिक रोजगारमा जाने नयाँ कामदारको संख्या चैतमा ५ हजार ९ सय ४८ छ । वैदेशिक रोजगार विभागमा दर्ता रहेकामध्ये चैतमा ७ सय १९ वटा म्यानपावर कम्पनीले कामदार पठाउन श्रम स्वीकृति लिएका छन् ।
सरकारी प्रक्रियामार्फत दक्षिण कोरिया जान चैतमा २ हजार २ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस अघिका महिनामा जस्तै चैतमा पनि सबैभन्दा धेरै धनुषा जिल्लाबाट नै वैदेशिक रोजगारीमा गएका छन् । चैतमा धनुषाका ३ हजार ६ सय ८१, दोस्रो बढी जाने जिल्लाका रूपमा रहेकोे झापाका २ हजार ८ सय २३, तेस्रोमा रहेको सिरहाबाट २ हजार ५ सय ९२ जना वैदेशिक रोजगारमा गएका छन् । सूचीको चाथौ नम्बरमा रहेको महोत्तरीबाट २ हजार ४ सय ७१, पाँचौं नम्बरमा रहेकोे मोरङबाट २ हजार ४ सय १२, छैटौं स्थानमा रहेकोे रुपन्देहीबाट १ हजार ९ सय ३३, सातौं स्थामा रहेकोे सर्लाहीबाट १ हजार ८ सय ६९, आठौं स्थानको सुनसरीबाट १ हजार ६ सय ६, नवौं स्थानको सप्तरीबाट १ हजार ५ सय ८१ र दशौं स्थानकोे नवलपरासी पूर्वबाट १ हजार १ सय ११ जनाले श्रम स्वीकृति लिएका छन् ।